आजदेखि जो कोहिले इन्धन आयात र बिक्री गर्न पाउने, मूल्य पनि आफूखुसी राख्न पाउने

काठमाडौं, कात्तिक १३ । सरकारले जुनसुकै व्यक्ति वा कम्पनीलाई मुलुकभित्र पेट्रोलियम पदार्थ आयात गर्न खुला गरेको छ । यसरी आउने इन्धनको मूल्य आयातकर्ता कम्पनी वा व्यक्तिले आफूखुसी निर्धारण गर्न पाउनेछन् । त्यस्तै, आफ्नै प्रयोजनका लागि मात्रै इन्धन ल्याउन पनि यस्तो व्यवस्थाले छुट दिएको छ ।

इन्धनको चरम अभाव पूर्ति गर्न सबै नागरिकलाई जहाँबाट भए पनि इन्धन ल्याई बिक्री गर्ने वा आफैँले प्रयोग गर्न सक्ने व्यवस्था गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको खवर नयाँ पत्रिकाले प्रकाशित गरेको छ । निकासी पैठारी नियन्त्रण ऐन २०१३ अनुसार यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

साताअघि भएको निर्णय राजपत्रमा प्रकाशित भएपछि शुक्रबारबाट लागू हुँदै छ । त्यसपछि उद्योग, कलकारखाना आफैँले डिजेल ल्याई प्रयोग गर्न सक्ने मन्त्रालयको भनाइ छ । त्यस्तै, बजारमा बिक्री गर्ने उद्देश्यले कम्पनी वा व्यक्ति जोकोहीले पनि इन्धन ल्याउन सक्ने मन्त्रालयमातहतको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले जानकारी दिए ।

व्यक्तिगत रूपमा इन्धन आयात गर्न चाहनेले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा फर्म दर्ता गरी सोही फर्ममार्फत इन्धन ल्याउनुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक शम्भु कोइरालाले जानकारी दिए । ‘एउटा व्यक्तिले जुनसुकै स्थानबाट थोरै मात्रामा भए पनि इन्धन आपूर्ति गर्न सक्ने क्षमता राख्छ । तर, व्यक्तिबाट आपूर्ति गर्दा छानबिन गर्न समस्या हुने भएकाले त्यस्ता व्यक्तिले फर्म दर्ता गरी इन्धन आयात गर्न पाउने व्यवस्था गरेका छौँ,’ उनले भने ।

उनका अनुसार विदेश वा अन्य कुनै पनि ठाउँबाट इन्धन ल्याएर बिक्री गर्न चाहनेले विभागमा जानकारी दिनुपर्छ । विभागमातहत निजी क्षेत्रले ल्याउने इन्धनको गुणस्तर र मूल्य निरीक्षण गर्ने समिति छ । सो समितिले बिक्रीका लागि आयात भएको इन्धनको गुणस्तर परीक्षण गर्छ । तर, मूल्य भने व्यक्ति वा कम्पनीले लागतका आधारमा आफैँ तोक्नेछन् ।

‘विभागमातहतको समितिले कम्पनीले ल्याएको इन्धनको गुणस्तर परीक्षण गर्ने र मूल्य कतिको उपभोक्तामुखी छ भनेर निरीक्षण गर्छ,’ उनले भने, ‘कम्पनीले ल्याएको इन्धनको मूल्य विभाग वा अन्य सरकारी निकायले नियमन नगर्ने भन्ने छ ।’
नयाँ पत्रिका दैनिकबाट साभार

No comments

Powered by Blogger.