तेल व्यापारसँगै नेपालसँग विद्युत व्यापार सम्झौताका लागि चीनको प्रस्ताव

काठमाडौं, कात्तिक १३ ।  जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण तथा प्रविधि आदानप्रदानमा सहकार्य गर्न चीनले नेपालसँग विद्युत व्यापार सम्झौता (पिटिए)का लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव अघि सारेको छ। भारतले अघोषित नाकाबन्दी सुरु गरेसँगै चीनले दुई देशबीच सुरुमा समझदारीपत्रमा हस्ताक्षर गरी सम्झौता प्रक्रिया अगाडि बढाउने मनशाय व्यक्त गर्दै असोज ११ गते नै लिखित पत्राचार गरेको खुलेको आजको नागरिकमा खबर छ।

चिनियाँ जलस्रोत मन्त्रालयअन्तर्गतको ‘हान्जाउ रिजनल सेन्टर’ ले आयोजना निर्माणदेखि प्रविधि हस्तन्तरणसम्मको समझदारी नेपालसँग गर्न इच्छा देखाउँदै नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाएको छ ।

प्राधिकरण ऐनअनुसार यस्तो समझदारी कानुनी रुपमा उसले गर्न नमिल्ने हुँदा त्यो पत्र ऊर्जा मन्त्रालयमा पठाएर त्यहीँबाट थप प्रक्रिया सुरु गरिएको प्राधिकरण एक उच्च अधिकारीले  बताए । ‘दुई देशबीच समझदारी गरेर सम्झौताको आधार तय हुनेछ,’ ती अधिकारीले भने, ‘हाम्रो मन्त्रालय र चीनको जलस्रोत मन्त्रालयबीच समझदारी भई त्यसको कार्यान्वयन दुई सरकारी संस्थाले गर्ने गरी आन्तरिक काम भइरहेको छ ।’

उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने चीनले नेपालसँग विद्युत व्यापार सम्झौता गर्न इच्छा देखाएको विषयमा स्पष्ट खुलाउन चाहेनन् । ‘केही कुरा भएको छ, तर त्यसबारे आन्तरिक काम भएको छैन,’ उनले भने, ‘भारतबाट मात्र बिजुली किनिरहेको अवस्थामा विकल्प खोज्न पनि आवश्यक छ ।’

चिनियाँ कम्पनीले गरेको प्रस्तावअनुसार दुवै देशको सहकार्यमा ठूला आयोजना तथा प्रसारण लाइन निर्माण, परामर्श, योजना तय गर्दै नदी बेसिन आयोजनाको अध्ययन गर्न सकिनेछ । दुई देशको सहकार्यमा उपकरण आयात–निर्यात, सौर्य तथा बायोमास ऊर्जा उत्पादन र ऊर्जा क्षेत्रको अध्ययन तथा अनुसन्धानसमेत गर्न सकिने प्रस्तावमा उल्लेख छ ।

चीनले दुई देशको सहकार्यमा पाकिस्तानलगायत एसियाली मुलुकमा ठूला जलविद्युत आयोजना निर्माण गर्दै आएको छ । त्यही मोडलमा नेपालमा आयोजना निर्माण गर्दै व्यपाारसमेत गर्न चाहेको चीनको आशय रहेको प्राधिकरण अधिकारी बताउँछन् ।

पाकिस्तानमा अपनाइएको मोडलकै आधारमा प्राधिकरणले चिनियाँ कम्पनीसँग काम गर्न नसक्ने हुँदा सरकारस्तरबाटै यस्तो काम हुनुपर्नेमा त्यहाँ अधिकारीको जोड छ ।

–नागरिक दैनिकबाट साभार

No comments

Powered by Blogger.