चोरको कत्रो हिम्मत ! आयल निगमबाटै ट्यांकर चोर्ने प्रयास
१४ पुस, विराटनगर । चोरहरुको एउटा समूहले मंगलबार बिहान बिराटननगरस्थित आयल निगममा पार्किङ गरी राखेको डिजेलको ट्यांकर चोरी गर्ने असफल प्रयास गर्यो । ट्यांकर सय मिटर पर पुर्याएपछि सो समूह एक ग्यालेन डिजेल चोरेर फरार भयो ।
मोटरसाइकलमा तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले ट्यांकरभित्र रहेका सहचालकको हातखुट्टा बाँधेर ट्यांकरलाई नियन्त्रणमा लिई केही परसम्म लगेका थिए ।
निगमबाट झन्डै सय मिटर टाढा गाडी पुर्याएपछि ट्यांगर बिग्रिँदा उनीहरुले ग्यालेनमा निकालेर इन्धन चोरी गरेको सहचालकको भनाइ उद्धृत गर्दै प्रहरीले बताएको छ ।
अज्ञात समूहले ट्यांकर नियन्त्रणमा लिएको खबर सुनेर पुगेको प्रहरी टोलीले ग्यालेनमा निकालेको केही इन्धन भने बरामद गरेको छ । उनीहरुले एक ग्यालेनको झन्डै एक सय लिटर भने लिएर भागेका छन् ।
घटनामा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जोगवनी नाकाबाट इन्धन लिएर आएको ना २ ख ५०२९ नम्बरको ट्यांकर मंगलबार बिहान डिजेल अनलोड गर्ने भन्दै सोमबार राति निगमको पार्किङस्थलमा राखिएको थियो ।


Leave a Comment