कांग्रेस सभापतिमा सुजता
नेपाली कांग्रेसकी नेत्रृ सुजता कोइरालाले नेपाली कांग्रेसको आगामी १३ औं महाधिवेशनमा सभापतिको उमेद्वारी दिने औपचारिक घोषणा गरेकी छन् ।
विराटनगरस्थित जिपी फाण्डेशनमा नेपाल प्रेस युनियन मोरङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले आशन्न महाधिवेशनमा आफू सभापतिको उमेद्वार भएको घोषणा गरेकी हुन् ।
कोइरालाले आफ्ना योजना सुनाउँदै कांग्रेस भित्र र बाहिर छवि राम्रो रहेका कारण यो पटकको महाधिवेशनमा आफू सभापतिको उमेद्वार हुन योग्य रहेको तर्क गरिन् ।
पार्टी सभापति सुशील कोइरालाकै समर्थनमा आफू सभापतिमा उठ्न लागेको दावी सुजताको छ ।
‘महाधिवेशनको विषयलाई लिएर सुशील कोइरालासँग भेट गरेर मलाई सभापतिमा सहयोग गर्नु प¥यो भनेर आग्रह गरिसकेको छु,’ उनले भनिन्, ‘विश्वास छ उहाँले मलाई सभापति बन्नका लागि सहयोग गर्नु हुन्छ ।’
अब कुनैपनि कुराको लोभ नगरिकन अभिभावकको भूमिकामा सुशील रहनुपर्ने उनको सुझाव छ । ‘मैले दोस्रो पुस्तालाई अगाडि बढ्ने मौका दिनुस भनेको छु,’ सुजनताले भनिन्, ‘उहाँलेपनि समर्थन जनाउनु भएको छ ।’
‘उमेद्वारी दिनबाट म पछाडि हट्दिनँ,’ कोइरालाले भनिन्, ‘बरु हार्न तयार छु । छाड्नेवाला छैन ।’ राजनैतिक प्रतिस्प्रधाबाटै नेतृत्वको विकास हुने भएकाले प्रतिस्पर्धाबाट आएको नतिजालाई सहर्ष स्विकार गर्ने उनको कथन थियो ।
पुराना लुगा छाडेर सबैले नयाँ लुगा रोज्ने गरेको बताउँदै उनले कांग्रेस नेत्रृत्वमा पनि दोस्रो पुस्ता र नयाँ अनुहारको खोजी भइरहेको रहेको जिकिर गरिन् ।
‘सबैले पुरानो भन्दापनि नयाँ कुरा खोज्छन्,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘नयाँ अनुहारका लागि काँग्रेस भित्र मेरै खोजी भइरहेको छ ।’
कोइरालाले बदलिँदो परिस्थिति अनुसार पार्टीलाई अगाडि बढाउन र सही दिशा दिन आफूले उमेद्वारी दिन लागेको दावी गरिन् ।
कोइरालाले आफ्नो अन्तराष्ट्रिय सम्बन्ध राम्रो भएकाले पनि पार्टीको सभापति बनिसकेपछि विदेशी लगानी मुलुकमा भित्राउन लागि पर्ने बताइन ।
‘मुलुक अब आर्थिक क्रान्तिमा अघि बढिसकेको छ,’ उनले भनिन्, ‘सबै दलहरु एक ठाउँमा उभिएर अव मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउनु पर्छ ।’
नेतृ कोइरालाले नेपालका राजनैतिक दलहरु राजनैतिक मुद्धाका लागि धेरै लडिसकेका कारण अव आर्थिक समृद्धिका लागि लड्नु पर्ने बताइन् ।
‘आर्थिक समृद्धि गर्न अन्तराष्ट्रिय सहयोग अपरिहार्य छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरमा मेरो सबैभन्दा राम्रो सम्बन्ध भएका कारण म पार्टीको सभापति बनिसकेपछि बाहिरी सहयोग भित्राउनपनि सजिलो हुन्छ ।’
राजनैतिक क्रान्ति सकिएर नेपाल आर्थिक क्रान्तितर्फ अगाडि बढिरहेका कारण पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनपनि सभापतिमा आफ्नो उमेद्धवारी अपरिहार्य रहेको कोइरालाको भनाइ छ ।
उनले आफूलाई सभापतिमा लड्नका लागि सबै ठाउँबाट हौसला र सहयोग मिलिरहेको दावीपनि गरिन् ।
‘कांग्रेस जनले गतिशील नेत्रृत्व खोजिरहेका छन् भन्ने कुरा देश दौडाहाका क्रममा बुझ्ने मौका पाएँ’ कोइरालाले भनिन्, ‘युवाहरुलाई अवसर दिने खालको कार्यक्रम ल्याएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने मेरो सोच छ ।’

Leave a Comment