अन्तरिक्षमा कोही बिरामी पर्दैनन्

अन्तरिक्षबाट देखिने सबैभन्दा सुन्दर दृश्य के हो?'
'गुरुत्वाकर्षण शून्य भएको स्थान
अन्तरिक्षमा सलाई कोर्दा कसरी बल्छ?'
'अन्तरिक्षयात्री बिरामी पर्छन् कि पर्दैनन्?'
'काठमाडौंमा केही घन्टामै कपडा फोहर हुन्छ? तपाईं कति दिनमा लुगा धुनुहुन्छ?
सामान्य तर अन्तरिक्ष विज्ञानसँग सरोकार राख्ने यी गहन प्रश्न बुधबार अन्तरिक्षयात्रीलाई सोध्दै थिए– राजधानीस्थित बृहस्पति विद्या सदनका विद्यार्थी।

उनीहरुका विज्ञानसुलभ जिज्ञासा मेट्दै थिए, अन्तर्राष्ट्रिय अन्तरिक्षकेन्द्र (आइएसएस) मा रहेका बेलायती अन्तरिक्षयात्री टिमोथी पिक।

'उत्तरी र दक्षिणी ध्रुवतिर सूर्यको किरण पर्दाको पृथ्वीको दृश्य अति सुन्दर देखिन्छ,' टिमोथीले जवाफ दिए, 'पृथ्वीबाटै बिरामी भएर गए मात्र, अन्तरिक्ष यात्रामा कोही बिरामी पर्दैनन्।'

पृथ्वीबाट करिब ४ सय ५ किलोमिटरमाथि रहेको अन्तरिक्षकेन्द्रबाट उनको जवाफ तुरुन्तै बृहस्पतिका विद्यार्थीका कानमा परिहाल्थे।

'यहाँ फोहर हुँदैन, एक सातासम्म एउटै कपडा लगाउँछौं, त्यसपछि फालिदिन्छौं,' टिमोथीले अर्काे प्रश्नको जवाफ दिए, 'पृथ्वीमा जस्तो गुरुत्वाकर्षण नभए पनि यहाँ सूक्ष्म गुरुत्वाकर्षण भने हुन्छ। सलाई कोर्दा पृथ्वीमा जस्तो ज्वाला माथितिर फर्केर बल्दैन, सूर्यजस्तो गोलो गरी ज्वाला फैलन्छ।'

नेपालमा पहिलोपटक आयोजना गरिएको अन्तरिक्षकेन्द्र– विद्यार्थी सीधा संवादमा विद्यार्थी उत्सुकता राखिरहेका थिए टिमोथीलाई।

नेपालबाट अस्ट्रेलियामा टेलिफोन र त्यहाँबाट एमेच्योर रेडियोमार्फत अन्तरिक्षयात्री समूहसँग सम्पर्क गराउने चाँजापाँजो मिलाएको थियो नासाले। यस्तो प्रविधिलाई 'टेलिब्रिज कन्ट्याक्ट' भनिन्छ। केन्द्रमा अहिले दुई अमेरिकी, दुई रुसी, एक बेलायती र एक युक्रेनी वैज्ञानिक छन्।

अन्तरिक्षयात्रीसँग कुरा गर्न २४ विद्यार्थीले तयारी गरे पनि निर्धारित १० मिनेटमा १७ जनाले आफ्ना प्रश्न सोधेका थिए। ठीक १० मिनेटमा अन्तर्राष्ट्रिय केन्द्रसँग सम्पर्क टुट्यो, जिज्ञासा राख्न तम्तयार मिमांशा ढुंगेलले भ्याइनन्।

'अब कुरा गरौंभन्दा पाइने होइन, ऐतिहासिक अवसर थियो, भ्याइनँ,' ढुंगेलले भनिन्, 'साथीहरुले सोध्न पाए, त्यसैमा खुसी छु।'

एक सेकेन्डमा ७.८ किलोमिटर यात्रा गर्ने अन्तरिक्षकेन्द्रमा रेडियो वेब एन्टेनाले भेट्न छाडेपछि अन्तरिक्षयात्री पिकसँगको सम्पर्क टुटेको थियो।

'अन्तरिक्षकेन्द्र क्षितिजलाई काटेर पृथ्वीको अर्को भागतिर लागेपछि सम्पर्क टुट्यो,' कार्यक्रमको संयोजन गरेका बृहस्पतिका निर्देशक प्रवीणराज जोशीले नागरिकसँग भने।

अन्तरिक्ष केन्द्र अस्टेलियाको ब्रिजटाउनमाथि पुगेपछि सम्पर्क सुरु भएको थियो।

घन्टामा २८ हजार किलोमिटर यात्रा तय गर्ने अन्तरिक्षकेन्द्रले पृथ्वीलाई दैनिक १७ पटक परिक्रमा गरिरहेको छ। अन्तरिक्षसम्बन्धी काम गर्ने अमेरिकी संस्था 'नासा' ले विभिन्न देशका विद्यार्थीसँग यस्तो संवाद गराइरहेको छ। यो क्रम सन् २००१ देखि जारी छ।

'नासाले टेलिकन्फरेन्स गराएको हो।

'अस्ट्रेलियाका एमेच्योर रेडियोसम्बन्धी संस्थाले त्यसमा सहयोग गरेको हो,' जोशीले भने।

यस्तो कार्यक्रमलाई अमेरिका, क्यानडा, जापान, अस्ट्रेलिया, बेलायत, रुस, युरोपेली संघको एमेच्योर रेडियोसम्बन्धी संस्थाले सम्पर्कका लागि सहयोग गर्दै आएका छन्।

अहिले अन्तरिक्षकेन्द्रमा ६ जना अन्तरिक्षयात्री छन्। पिक ३६ दिनअघि अर्थात् २०१५ डिसेम्बर १५ का दिन बैकनुर अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट अन्तरिक्षकेन्द्रका लागि प्रस्थान गरेका थिए।

जोशीले करिब १० महिनाको प्रयासपछि बुधबारलाई संवाद कार्यक्रम तय भएको बताए। '१० महिनाभन्दा अघि नै हामीले प्रस्ताव गरेका थियौं। एक महिनाअघि हामीलाई १० वटा समय दिएर छान्न लगाइयो,' जोशीले भने, 'त्यसमध्ये सबैभन्दा लामो समय १० मिनेट उपलब्ध गराएकाले आजैलाई छान्यौ।'

एमेच्योर रेडियो अन इन्टरनेससनल स्पेस स्टेसन (एआरआइएसएस) ले यस्तो कार्यक्रम आयोजना गरेको हो।

जोशी एमेच्योर रेडियो अपरेटर हुन्। उनलाई विभवराज सत्याल, शैलेन्द्र ढुंगेल र सौजन्य प्रधानले सहयोग गर्दै आएका छन्।

'यसले विद्यार्थीलाई विज्ञान अध्ययनप्रति चाख पढाउनेछ,' जोशीले नागरिकसँग भने।

अमेरिका, रुस, जापान र युरोपेली संघले सञ्चालन गर्दै आएको अन्तरिक्षकेन्द्रमा नियमित रुपमा अन्तरिक्षयात्री रहने गरेका छन्। त्यहाँ बसेर उनीहरुले विभिन्न वैज्ञानिक अनुसन्धान गर्ने गरेका छन्।

कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसलगायत थिए।

No comments

Powered by Blogger.