६४ करोडको फोटो

संसारभरि दिनहुँ करोडौँ फोटो खिचिन्छन् होला। तर, तीमध्ये कुनै फोटोको मूल्य करोडौँको हुुनसक्छ भन्ने अनुमान लगाउन कठिन छ। तर, एउटा फोटो करिब ६४ करोड रुपैयाँमा बिक्री भएको छ। श्यामश्वेत यो तस्बिर अहिलेसम्मकै सबैभन्दा महँगो तस्बिर बन्न पुगेको छ। अमेरिकाको एरिजोना प्रान्तको एन्टिलोप क्यान्योन क्षेत्रमा यो तस्बिर खिचिएको हो। फाइन आर्ट फोटोग्राफीका लागि विख्यात अस्ट्रेलियन फोटोग्राफर पिटर लिकले यो फोटो खिचेका हुन्। फोटोको टाइटल 'फ्यान्टम' राखिएको छ। यो फोटोले घुमाउरो आकारका चट्टान र किरणपुञ्जबाट बनेको आकृतिको दृश्यलाई क्याप्चर गरेको छ। पिटरले यो फोटो ६० लाख ५० हजार डलरमा लिलाम गरेका छन्। यसअघि कुनै पनि तस्बिर यति चर्को मूल्यमा बिक्री भएको थिएन। पिटरको यो फोटो खरिद गर्ने व्यक्तिको नाम सार्वजनिक गरिएको छैन। ती व्यक्तिले पिटरका अन्य दुई फोटो पनि खरिद गरेका छन्। खरिद गरिएका अन्य दुई तस्बिरका शीर्षक 'इलुजन' र 'इटर्नल मुड्स' रहेका छन्। 'इलुजन' २० लाख ४० हजार डलर र 'इटर्नल मुड्स' १० लाख डलरमा बिक्री भएका हुन्।

No comments

Powered by Blogger.