लालपूर्जा बुझाउनोस्, नयाँ घरमा बस्नोस् !
१५ माघ, काठमाडौं । राजधानीका असन, इन्द्रचोकजस्ता ठाउँहरु अमेरिकाको न्यूयोर्क सिटीका लागि ‘म्यानहृयाटन’ जस्तै हुन् । संघीय नेपालको राजधानी काठमाडौंको पनि मुटु हो यो ठाउँ । व्यापारिक, पर्यटकीयलगायत हरेक हिसाबले राजधानीको पनि राजधानी हुनुपर्ने हो यो ठाउँ । तर, त्यहाँ भएका भौतिक संरचनाहरु हेर्दा यो ‘डाउट टाउन’ हो भन्ने पटक्कै लाग्दैन ।गत वैशाख १२ को विशानाकारी भूकम्पपछि त असन, इन्द्रचोक किलागललगायतका क्षेत्रमा धेरै घरहरु टेकाको भरमा अडिएका छन् । र, धराप थापेजस्तै देखिन थालेका छन् । पाटनको मंगल बजारलाई पनि त्यस्तै टेकाको भरमा अड्याउन खोजिएको छ ।
भूकम्पले क्षति पुगेका काठमाडौं उपत्यकाका कतिपय घरहरु ईंटा र माटोबाट बनेका छन् र, ५० वर्ष भन्दा पुराना भइसकेका छन् । एक अर्कासँग जोडेर निर्माण भएकाले कुनै एक परिवारले आफ्नो घरलाई भत्काएर नयाँ बनाउने अवस्था पनि छैन, किनकि एउटा घर भत्काउँदा अडेस लागेर उभिएको अर्को घर स्वत भत्कने अवस्था छ ।
किलागलमा महानगरपालिकाको नयाँ योजना
राजधानीका पुराना घरहरुको यही जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले पुनर्विकासको योजना अघि सारेको छ ।
काठमाडौंको कोर सिटी एरियाको ‘ल्याण्ड पुलिङ’ गर्ने र ‘डाउट टाउन’ का रुपमा विकास गर्ने महानगरको प्रस्ताव छ ।
पहिलो चरणमा ठमेलको नजिकै पर्ने किलागलमा यो अवधारणालाई अघि बढाउन खोजिएको महानगरपालिका भौतिक विकास तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।
त्यस क्षेत्रका ५९ परिवारको जमिन महानगरपालिकाले लिने र संयुक्त आवास बनाउने महानगरको योजना छ । महानगरपालिकाले संयुक्त आवास भवनको नक्सा बनाइसकेको छ र यो लोभलाग्दो छ ।
तर, निकै महत्वाकांक्षी योजना स्थानीयबासीले पनि स्वीकार गरेका छन् । किलागलका धेरै स्थानीयवासीले त लालपूर्जा नै ल्याएर महानगरपालिकामा बुझाइसकेका छन् ।
‘अब काठमाडौंका ‘सिटी कोर एरिया’ मा संयुक्त आवासमा जानुपर्छ भन्ने ज्ञान सर्वसाधरणमा पनि आएको छ’ डा. रेग्मीले अनलाइनखबरसँग भने- ‘विभिन्न बस्तीका बासिन्दा हामीकहाँ संयुक्त आवास निर्माणको व्यवस्था गर्न माग गर्दै आएका छन् ।’
कस्तो बन्दैछ नयाँ संयुक्त आवास ?
महानगरपालिकाले बनाएको योजनाअनुसार काम हुने हो भने ३ वर्षमा संयुक्त आवास बन्नेछ । महानगरले त्यस क्षेत्रमा भएका सबै भौतिक संरचनालाई हटाउने र भूकम्प प्रतिरोधी तथा व्यवसायिक प्रयोजनका लागि समेत हुने गरी संयुक्त भवन बनाउने योजना बनाएको छ ।
महानगरको खाकाअनुसार यो भवन पाँच तलाको हुनेछ । भूइँ र पहिलो तला व्यवसायिक प्रयोजनका लागि हुनेछ भने माथिल्ला तलाहरु आवासका लागि प्रयोग गरिनेछन् ।
Leave a Comment