जोडिँदै तीन देश

भोटखोला (संखुवासभा): चीनको स्वसाशित क्षेत्र तिब्बतसँग जोड्ने नेपालको कोसी राजमार्ग तीव्र गतिमा निर्माण भइरहेको छ । सीमा गाविस किमाथांका हुँदै खाँदबारीतर्फ र खाँदबारीबाट किमाथांकातर्फ सडक निर्माणको क्रममा छ।राष्ट्रिय गौरवको यो राजमार्ग चीन, नेपाल र भारत जोड्ने हालसम्मकै नेपालकै छोटो राजमार्ग हुनेछ। तीन सय ७६ किलोमिटर दूरीको रानी विराटनगर-खाँदबारी-किमाथांका सडक छिमेकी राष्ट्रसँगको व्यपारिक मार्ग बन्ने छ।
 
 ६ वर्षअघि ट्र्याक खोल्न सडक विभागले उत्तर-दक्षिण कोसी सडक आयोजना स्थापना गरी काम सुरु गरेपछि सडक बिस्तार हुन थालेको हो । दुर्गम र विकट क्षेत्र भए पनि आयोजनाले तीव्र रूपमा काम गर्दै आएको छ।
 
किमाथांका–विराटनगर यातयात विकास सरोकार समितिले मंसिर १९ गते शनिबार आयोजना गरेको अन्तक्रियामा प्रधानमन्त्री खड्गप्रसाद ओलीले त्रिदेशीय महत्वको यो सडक दुई वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए। 'दिन र रात गरी काम अघि बढाउँछौं', निरीक्षणमा आएका उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले भने।
 
पूर्वउपप्रधान तथा पराराष्ट्रमन्त्री सुजता कोइराला, पूर्व अर्थमन्त्री रामशरण महत र रानीविराटनगर–किमाथांका सडक सरोकार समितिका संयोजक हरि वैरागी दाहालको टोलीले हेलिकोप्टरबाट सडकको अवलोकन गरे। 
 
सरकारका तर्फबाट सडकको अनुगमन गर्न उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझीसहितको टोली आएको थियो । खाँदबारीमा स्थानीयवासीसँगको अन्तक्रियमा टोलीले दुई वर्षमा काम सम्पन्न गरी उद्घाटन गर्न गाडीमै किमाथांका पुग्ने बताए।
 
खाँदबारी सडकको प्रगती
खाँदबारीबाट नुमको फ्याक्सिन्दासम्म कच्ची सडक निर्माण सम्पन्न भई यातयात सञ्चालन हुँदै आएको छ। अरुण नदीमा पुल निर्माणधीन अवस्थामा रहेकाले अरुणपारि पाथीभराको उवासम्म सडक निर्माण गरिए पनि पुल अभावले यातयात सञ्चालन गर्न सकिएको छैन।
 
 खाँदबारी-सेकाहा र सेकाहा–कुवापानीसम्मको ग्राभेल पूरा हुने क्रममा छ । कुवापानीदेखि एकुवासम्म ग्राभेल गर्न ठेक्का लागि काम धमाधम हुने क्रममा छ । भोटखोला अन्तर्गतका ६ गाविसवासीको आवतजावतले गर्दा यो सडकमा दैनिक ५० भन्दा बढी यातयातका साधन गुड्दै आएका छन्।
 
किमाथांका हुँदै खाँदबारी सडकको प्रगती
चीनको चाँगाको अरुण नदीवारिबाट किमाथांका गाउँ हुँदै बिरालो भीरसम्मको १० किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। करिब २१ किलोमिटर सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी शर्मा एपेक्स कान्छाराम जेभीले राष्ट्रिय गौरबको सडक भन्दै निर्माणलाई तीव्रता दिँदै आएको छ। 
 
किमाथांका र खाँदबारी बीचको सडक ठेक्का प्रक्रियामा छ । भिरालो जमिन, चट्टानयुक्त भीरका कारण सडक निर्माणले गति लिन समस्या भएको छ । यो सडक प्रतिष्ठा र राष्ट्रिय स्वधिनतासँग जोडिएको भनेर यसप्रति आशा र भरोसा गर्ने गरेको भोटखोलाका अगुवा एमालेका उपसचिव वांगदाबी भोटे बताउँछन् ।
 
सडक सुरुवातको अवस्था
जनस्तरमा सडक निर्माणको कुरा २०५९ सालमा संस्थागत रूपमा उठेको थियो । किमाथांका खाँदबारी मोटरबाटो निर्माण नागरिक मूल समिति गठन भएको थियो । यो समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भयो तर प्रभावकारी रूपमा काम गर्न भने सकेन। 
 
सडक निर्माणका लागि २०६४ मा नागरिक अगुवा जीवनाथ खनालले अगुवाइ गर्दै एक रुपैयाँ अभियान सुरु गरे । २०६३ देखि पत्रकार जीवनाथ खनाल र गंगा बिष्टले स्थलगत अवलोकन गरी स्थानीय जनतासँग सडकको आवश्यकता, महत्व र सडकसँगै हुने परिर्वतन तथा आर्थिक उन्नतिबारे छलफल गराए।
 
 
२०६४ मा नेपाल वातवरण पत्रकार समूह (नेफेज) सँगको सहकार्यमा आँखीझ्याल कार्यक्रमका लागि वृत्तचित्र निर्माण गरी प्रचारप्रसार भयो । तत्कालीन चिनियाँ राजदूत सुन हेपिङले समेत एक रुपैयाँ अभियानमा सहभागी भएर सडक निर्माणमा सहयोग गर्ने बताएका थिए। 
 
माधवकुमार नेपाल प्रधानमन्त्री हुदाँ चिनियाँ भ्रमण गर्दा किमाथांका नाका सञ्चालनमा ल्याउन सहयोग गर्न चीनसँग प्रस्ताव राखेका थिए । किमाथांका खाँदबारी मोटरबाटो निर्माण नागरिक मूल समितिको लेटरप्याडमा गाविसस्तरबाट निर्णय भएको प्रतिसहित चीन सरकारलाई बुझाएको थियो। 
 
सडक निर्माणका बारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदीशचन्द्र पोख्रेल, सदस्य शिवकुमार राईसमेतलाई भेट गरी मागपत्र पेस गरिएको थियो।प्रत्येक वर्ष किमाथांका पुगेका नागरिक अगुवाहरूले चीनका स्थानीय प्रशासकलाई भेट गरी सडक निर्माणमा सहयोग गर्न अनुरोधपत्र दिने गरेका थिए। 
 
मंसिरमा तिंगिस्यनका प्रशासक दावा छिरिङ र स्थानीय विधानसभाका सदस्य पेमाछिरिङसँग भेट गरी किमाथांका नाका सञ्चालनमा ल्याउन चीन सरकारले सहयोग गर्न अनुरोधपत्र बुझाएका थिए।राज्य संघीय संरचनामा गई सकेको र प्रदेश नम्बर एकको मुख्य व्यपारिक केन्द्र यो नाका बन्नेमा दुई मत छैन। 
 
भारतको जोगमनीदेखि चीनको चाँगा व्यपारिक केन्द्र जोड्ने यो सडकको लम्बाइ तीन सय ७६ किलोमिटर छ । यो नाका सञ्चालनको आधारभूत माध्यम सडक देखिएकाले निर्माणमा राज्यको पहल सुरु भएको छ। 
 
नेपालको उन्नति चाहने राज्य सञ्चालकहरूले यो नाका सञ्चालनमा मुख्य प्राथमिकता दिएको एमालेका जिल्ला अध्यक्ष हेमराज घिमिरेको भनाइ छ ।
 
सडक निर्माण देखिएका समस्या
भौगोलिक विकटता, राजनीतिक खिचातानी, हिमपात, स्थानीयवासीको अवरोध, सडक कार्यालयले दुरुस्त काम गर्न पहल नगरी बजेट फ्रिज हुनु, ठेकेदार कम्पनीलाई कढाइ गर्न नसक्नु यो सडक निर्माणको समस्या हो। 
(अन्नपूर्ण पोस्ट बाट सभार )

No comments

Powered by Blogger.