नग्न मूर्ति : यो कला हो कि अश्लीलता ?

१ फागुन, काठमाडौं । गत जनवरीमा इरानी राष्ट्रपति हसन रोहानी इटालीको रोम पुगेका थिए । रोमको चर्चित कपिटलाइन म्युजियममा राष्ट्रपति हसनको उपस्थिति हुनुअघि त्यहाँ रहेका नग्नमूर्तिहरु ढाकिए ।

यो घटनाले केही दिन मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा पायो । सामाजिक सञ्जाल प्रयोगकर्ताले मोनालिसाको तस्वीरलाई  फोटोसपमार्फत बूर्का ओढाएर समेत व्यंग्य गर्न भ्याए ।

रोम मूर्तिहरुको सभ्यताले भरपूर प्राचीन शहर हो । त्यहाँका मूर्तिहरुमा कलाका साथै नग्नता पनि उत्तिकै पाइन्छ । रोममा जतिबेला इरानी राष्ट्रपतिका लागि नग्न मूर्तिहरु ढाकिँदै थिए, यता काठमाडौंको बबरमहलस्थित आर्ट ग्यालरीमा युवा मूर्तिकार नविन सुवेदीले त्यस्तै झल्को दिने नग्न मूर्तिहरुको प्रदर्शनी गरिरहेका थिए ।

आखिर किन कलाकारहरुले नांगो मूर्ति बनाउँछन् ? मूर्तिमा देखिने नग्नतालाई कला भन्ने कि अश्लीलता ? यो बहस कमै हुने गरेको छ, जसलाई रोमको घटनाले थोरै मात्रामा भए पनि कोट्याउने प्रयास गर्‍यो ।

पत्रपत्रिकाहरुमा नग्न तस्वीर प्रकाशित गर्नु आचार संहिताविपरीत मानिन्छ । तर, मूर्तिकलामा यो नियम लागू भएको पाइँदैन । काठमाडौंका मन्दिरहरुमा देखिने यौनजन्य टुँडालहरुलाई अश्लीलता नभएर ‘कला’ नै मान्ने गरिएको पाइन्छ ।
आर्ट ग्यालरीमा सुवेदीले प्रदर्शनीमा राखेका धेरै मूर्ति यस्तै नग्नता झल्काउने खालका थिए । शायद इरानी राष्ट्रपति हसन यहाँ आएका भए रोममा जस्तै यी मूर्तिहरु पनि कपडाले ढाक्नुपथ्र्याे होला !

किन बनाइन्छन् नग्न मूर्ति ?

आखिर नग्न मूर्तिहरु किन बनाइन्छन् ? अनलाइनखबरको प्रश्नमा मूर्तिकार नवीन सुवेदी जवाफ छ, मूर्तिकलाको आधारभूत अध्यययनका क्रममा यस्ता ‘न्युड’ मूर्तिहरु बनाउनैपर्ने बाध्यता हुन्छ ।

‘ललितकला शंकायमा स्नातकसम्म अध्ययन गर्दा यस्ता मूर्ति अनिवार्य बनाउनुपर्छ,’ मूर्तिकार सुवेदी भन्छन्- ‘मानिसको टाउकोदेखि हड्डीसम्म, अनि शरीरका सम्पूर्ण पार्टपूर्जाहरु कस्ता हुन्छन् भन्ने जानकारीका लागि विभिन्न पोजका नांगा मूर्तिहरु अनिवार्य बनाउनुपर्छ ।’

मूर्तिकारले जस्तै चित्राकारले पनि नग्न तस्वीर नकोरी    चित्रकला सिक्न नसक्ने सुवेदीको तर्क छ । काठमाडौंको ललितकला क्याम्पस अध्ययन गरेका सुवेदीले अनलाइनखबरसँग भने- ‘ब्याचलरसम्म यस्तै न्युड मूर्ति बनाउन सिकाइन्छ र त्यसपछि बल्ल मोर्डन आर्टतिर गइन्छ ।’

के रोमको शहरमा भेटिने नग्न मूर्तिहरु पनि सबै सिकारु विद्यार्थीले  नै बनाएका हुन् त ? यो प्रश्नमा सुवेदीले भने- ‘कतिपय मूर्ति वा टुँडालहरु मनोरञ्जनको उद्देश्यले पनि बनाइएका हुन्छन्, तर तिनीहरुलाई हेरेरमात्रै यो प्रश्नको जवाफ दिन सकिन्छ ।’

सुवेदीले बनाएका केही मूर्ति यस्ता छन्


No comments

Powered by Blogger.