संविधान कार्यान्वयनमा भारतको अवरोध: दाहाल

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट जारी नेपालको प्रगतिशील संविधान कार्यान्वयनमा दक्षिणी छिमेकी भारतले अवरोध सिर्जना गरेको बताएका छन् । नेपालको प्रगतिशील संविधान कार्यान्वयन हुँदा त्यसको असर आफ्नो मुलुकमा पनि पर्ने डरका कारण भारतले संविधान कार्यान्वयनमा अवरोध गर्न खोजेको आरोप दाहालको थियो ।

पार्टी निकट थारू राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बुधबार पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष दाहालले भने, ‘संविधानसभाबाट जारी संविधानले नेपालका जनजाति र महिलालाई दिएको अधिकार भारत र अमेरिकाले पनि दिएका छैनन् ।'
‘नेपालको जस्तो प्रगतिशील संविधान न भारतमा छ न अमेरिकामा । हाम्रो संविधानमा जनजाति र महिलाका लागि धेरै अधिकार सुनिश्चित गरिएको छ', दाहालले भने ।

महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको, जनजातिका लागि समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको र सीमांकनबारे संविधान संशोधन गर्न छलफल चलिरहेको स्मरण गराउँदै उनले भने, ‘हाम्रो संविधानलाई राम्रो भने भारतमा पनि हाम्रो संविधानमा भएजस्तै अधिकार त्यहाँका महिला र आदिवासी जनजातिले खोज्ने भए ।'

बैठकले सीमांकनमा थारू समुदायको अधिकार सुनिश्चित गर्न संघर्ष गर्ने निर्णय गरेको मोर्चाका संयोजक सन्तकुमार थारूले बताए । मोर्चाका संयोजक थारूका अनुसार बैठकले मोर्चाको राष्ट्रिय सम्मेलन वैशाख ९ मा दाङमा गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सम्मेलनका लागि बैठकले विभिन्न उपसमिति पनि गठन गरेको छ । बैठकले सम्मेलनअघि तराईका २२ जिल्लामा १० थारू मोर्चाले सदस्यता वितरण गर्ने निर्णय गरेको छ । थारू मोर्चाले आफ्नो संगठनलाई सशक्त र प्रभावकारी बनाउन राजनीतिक र वैचारिक प्रशिक्षण व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थारूले बताए ।

दस वर्षभित्र समाजवादी क्रान्तिलाई पूर्णता दिने गरी राजनीतिक र सांगठनिक गतिविधि प्रभावकारी बनाउन दाहालले थारू मोर्चालाई निर्देशन दिएका थिए ।

No comments

Powered by Blogger.