पपुवा न्यु गिनी महिलाका लागि संसारकै खराब

पपुवा न्यु गिनी महिलाका लागि संसारकै खराब देश भएको अधिकारवादीहरूले जनाएका छन् ।

उनीहरूले त्यहाँ महिला हिंसा बढी हुने भन्दै विश्वका अन्य देशको तुलनामा यो देशमा महिलाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका हुन् ।


मानवअधिकारसम्बन्धी विश्व संस्था ह्युमन राइट्स वाचले भनेको छ, ‘पपुवा न्यु गिनीमा महिलाविरुद्ध घरायसी हिंसाको रूप चरम रहेको देखिएको छ र यसलाई संसारकै खराब अवस्थामा राख्न सकिन्छ ।’

महिलामाथि हिंसा गर्ने व्यक्तिलाई त्यहाँ सशक्त रूपमा कारबाही गर्न नसकिएको र त्यसका लागि प्रहरीले नै अग्रसरता नलिने गरेको पनि उनीहरूको भनाइ छ ।

उक्त अधिकार समूहका सदस्यले यस्ता अपराधीलाई प्रहरीले निकै थोरैमात्र कारबाही गर्ने गरेको बताएका छन् ।

पपुवा न्यु गिनी महिलाका लागि संसारकै सबैभन्दा खराब रूपमा हिंसा हुने देश हो र त्यहाँका अधिकांश महिलाले लैंगिक हिंसा एवं यौनजन्य हिंसा ब्यहोर्ने गरेका छन् ।

यस समूहको गत साता सार्वजनिक गरिएको एक प्रतिवेदनमा भनिएको छ, ‘यहाँका कम्तीमा पनि ७० प्रतिशत महिलाले आफ्नो जीवनकालमा कम्तीमा पनि एकपटक बलात्कार हुने वा यौन हिंसामा पर्ने गरेका छन् ।’

यस्तो भयानक अवस्थापछि सन् २०१३ मा पारिवारिक एवं महिला संरक्षण ऐन जारी गरिएको थियो । तर त्यस ऐनबमोजिम निकै थोरै अपराधी कारबाहीमा परेका छन् ।

सरकारले पनि यस्ता अपराधीलाई कडा कारबाहीका लागि पहल गर्ने गरेको जनाएको तथा ऐनले नै यस्तो व्यवस्था गर्ने गरेको भए पनि व्यवहारमा कानुन कार्यान्वयन नहुने गरेको बताइएको छ ।

त्यस देशका करिब ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि बाँचेका छन् । उता प्रहरीले भने पीडितसँग नै कारबाहीको सट्टा घूस माग्ने गर्दछ ।

त्यहाँका पीडित महिलाले प्रहरीमा उजुरी गरिए पनि प्रहरीले बेवास्ता गर्ने गरेको तथा कारबाहीका लागि घूस माग्ने गरेको अनुभव प्रतिवेदनमा बताएका छन् ।

महिलामाथि बोक्सी एवं टुनामुना गर्ने गरेको आरोप लगाउने र हरेक दिन कुनै न कुनै महिलामाथि यस्तो आरोपमा कुटपिटका साथै हिंसा गर्ने गरिएको पाइने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसरी बोक्सीको आरोप लाग्ने गरेका महिलालाई आक्रमण गर्ने, गम्भीर रूपमा कुटपिट गरी सार्वजनिक रूपमा फालिदिने वा उनीहरूको घरमा आगजनी गर्ने गरिएको निकै क्रूर प्रकृतिका घटना हुने गरेको पनि जनाइएको छ ।

यसका कारण महिलामाथिको यस्तो दुव्र्यवहारले गर्दा यस देशले अन्तर्राष्ट्रिय कानुन एवं महिला तथा बालिकाको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन पालना पनि नगर्ने गरेको सूचीमा यस देश पुगेको छ ।
त्यसैले यस्तो हिंसा अन्त्य गर्न विश्व समुदायमार्फत उक्त समूहले त्यहाँको सरकारसमक्ष आग्रह गरेको छ ।

महिलामाथि हुने गरेका यस्ता जघन्य अपराध अन्त्य गरी अन्तर्राष्ट्रिय नीति र कानुन कडाइका साथ पालना गर्न अधिकारवादी समूहले आग्रह गरेका छन् ।

No comments

Powered by Blogger.