पृथ्वीनारायण शाहकोे शालिक पुनःस्थापनाको माग गर्दै आन्दोलन घोषणा


८ कात्तिक, पोखरा । पृथ्वीनारायण शाहको शालिक हटाएर शहीद लखन थापाको शालिक राखिएको प्रति असन्तुष्टि जनाउँदै पोखरामा आन्दोलन घोषणा गरिएको छ ।

पृथ्वीनारायणको शालिक पुनःस्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिले कात्तिक १० गते शुक्रबार मोटरसाइकल र्‍याली निकाल्ने, ११ गते पृथ्वीचोकमा जनसभा गर्ने र कात्तिक १५ गतेदेखि २० गतेसम्म महानगरपालिका परिसरमै रिले अनसन बस्ने घोषणा गरेको छ ।
त्यस्तै, कात्तिक २० गते साँझ मशाल जुलुश प्रदर्शन गर्ने र त्यतिबेलासम्म पनि माग पूरा नभए कात्तिक २१ गतेदेखि अनिश्चितकालिन पोखरा उपत्यका बन्दको घोषणा गरेको छ ।
बन्द संस्कृतिको विरोधी भएपनि शान्तिपूर्ण आन्दोलनबाट आफूहरुको माग सुनुवाई नभए बन्द गर्न बाध्य हुनुपर्ने संघर्ष समितिका सल्लाहकार प्रा. डा. दिलबहादुर क्षेत्रीले बताए ।
संघर्ष समितिका संयोजक शंकर खरालले महानगरपालिकाले झुक्याएर लखन थापाको शालिक पुनःस्थापना गरेको आरोप लगाए ।
‘हामीसँग कुरा गर्दा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङ दुबैले पोखराका कुनैपनि चोकमा शालिक नराख्ने प्रतिबद्धता जनाउनुभएको थियो,’ उनले भने,’तर, अहिले पृथ्वीचोकमा लखन थापाको शालिक पुनःस्थापना गरिएको छ, यो सरासर गलत हो, कि सबैको शालिक पुनःस्थापन हुनुपर्‍यो, कि त सबै शालिक अन्तै लानुपर्‍यो ।’

No comments

Powered by Blogger.